दर्शक नै भन्छन् 'जेसुकै होस्'

काठमाडौं : सहरको धनाढ्य शमशेरजंग थापाको छोरो विक्रम र कर्णेलकी छोरी जुलीको चिनजान केटाकेटीकालकै भए पनि जवानी बढ्दै जाँदा सम्बन्ध पनि घनिष्ट बन्दै गयो । बाबुआमाले उनीहरूको संगत र सम्बन्धबारे बेवास्ता गर्दा साथीहरूसँगै यो जोडी पनि लागूऔषध दुव्र्यसनको कुलतमा फस्न पुग्यो । आजभोलि गर्दागर्दै स्थिति भयावह बन्दै गयो । उनीहरूले विवाह त गरे तर सोचे जसरी जीवन अगाडि बढ्न सकेन । जीवनका यही उतारचढाव र सामाजिक परिवेशमा उनीहरूले बिताएका दिनचर्या नै चलचित्र ‘जेसुकै होस्’ को केन्द्रबिन्दु हो । चलचित्र अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरण पार गर्ने क्रममा छ । पन्ध्र सय जति म्युजिक भिडियो निर्देशन गरेपछि उमेश गुरुङलाई पनि ठूलो पर्दामा हाम फाल्ने रहर जाग्यो र चलचित्र बनाउने कथाको खोजीमा लागे । अन्ततः हात लाग्यो कथा ‘जेसुकै होस्’ । अनि सुरु भयो अरू जेसुकै भए पनि जेसुकै होस् बनाउने प्रक्रिया । रोशनलाई साथ लिएर उमेशले चलचित्रको निर्देशन थाले ।


दर्शक नै भन्छन् 'जेसुकै होस्'

‘बम, बारुद र गोलाले एकै पटकमा सिध्याउँछ भने कुलतले मानिसलाई पलपलमा मारिरहेको हुन्छ’, चलचित्र जेसुकै होस्को निष्कर्ष पनि यही हो । निर्देशक उमेश गुरुङले चलचित्रलाई एउटा यस्तो मोडमा ल्याएर टुंग्याएका छन् कि चलचित्र हेर्ने दर्शकले नै ‘अब के होला? ’ भन्ने प्रश्नको जवाफमा भन्ने छन्, ‘जेसुकै होस्’ । क्वालिटी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता नवराजजंग थापा हुन् । चलचित्रमा उमेश गुरुङ, किस्मत तामाङ, चन्दा दाहाल, रोशन श्रेष्ठ, सोनी गुरुङ, रामचन्द्र अधिकारीलगायतका कलाकारको अभिनय छ । सुरेश अधिकारी, लक्ष्मण शेष, डीआर अटु र नवराजजंग थापाको संगीतमा राजेशपायल राई, मीना निरौला, मेलिना राई, नवराजजंग थापा र सुधा रत्नको स्वर समेटिएको छ । काठमाडौं, कुरिनटार, मनकामनालगायतका स्थानमा यसको छायांकन गरिएको हो ।

‘मिल्दैन कुरै, लफडा छ पूरै के हुन्छ हुन्छ पाउँदिन सुरै’,

चलचित्रको मुख्य गीतको यही हो । गीतसंगीतमा नै रमेर म्युजिक भिडियोमा व्यस्त उमेश एकाएक चलचित्रतिर किन लागे त ? भन्छ्न्, ‘अब म्युजिक भिडियो छानेरमात्रै गर्ने हो । म्युजिक भिडियोभन्दा चलचित्र फराकिलो विधा भएकाले त्यता लागेको हुँ ।’ म्युजिक भिडियो निर्देशन पूरै नछोडे पनि अब चलचित्र निर्माण र निर्देशनलाई निरन्तरता दिने उनले बताए । आफू गीतसंगीत प्रेमी भएकाले चलचित्र निर्माणमा हात हालेको निर्माता नवराजजंग थापाको भनाइ छ ।

अनन्त वाग्ले ,साभारः अन्नपूर्ण पोष्टबाट

Comments

Popular posts from this blog

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

५० हजार घुससहित इन्जिनियर पक्राउ